अमेरिकामा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या

काठमाडौं — अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा मुना पाण्डे नामकी २१ वर्षीय नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धान अनुसार, मुनाको हत्या हत्याराले कोठाभित्रै पसेर गोली हानेर गरेको पुष्टि भएको छ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराबाट प्राप्त भिडियो फुटेजहरू प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले मुना केही समयदेखि एक अमेरिकी युवकसँग डेटिङमा रहेको खुलासा गरेको छ, तर हत्यारा पत्ता लाग्न भने अझै बाँकी छ। प्राप्त भिडियोमा देखिएअनुसार, हत्याराले मुनालाई ओछ्यानमै पुगेर तीनवटा गोली हानेको छ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। उनका आमा-बुवा अलग बसेका छन्, र नेपालमा उनकी आमा मात्र रहेको बताइएको छ।

प्रहरीले मुनाको शव पोष्टमार्टमका लागि लगेको छ र रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरू प्राप्त हुनेछन्। नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डाक्टर विष्णु नेपालका अनुसार, पोष्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा राखिनेछ र अन्त्येष्टि परिवारको समन्वयमा एनएएच र स्थानीय संघसंस्थाको सहयोगमा गरिनेछ। मुनाकी आमा नेपालबाट अमेरिका पुगेपछि अन्त्येष्टि गरिनेछ।

प्रतिक्रिया