जनता माविको सम्झना – सिउरे डाडाँमा मित्र सर आए पछि विद्यार्थीको सातो जान्थ्यो

मैले करिव सात बर्ष अध्ययन गरेको जनता माध्यामिक विद्यालय हालको जनता उच्च माध्यामिक विद्यालयले यहि फाुगुन १ गते गौरवमय हिरक जयन्ती मनाउँदै छ । विद्यालयलाई आजको स्थान सम्म ल्याउनको लागी महत्वपुर्ण योगदान गर्ने संस्थापक,शिक्षक,अविभावक,विद्यार्थी लगाएत सबैलाई धेरै धेरै बधाई अनि आगामी दिनमा अझ धेरै सफलताको शुभकामना ।

आज खुसीले छाती फुलेको छ,मैले खेलेको हुर्केको त्यो आगनमा यसरी सँधै फूल फुलिरहेको देख्न पाइयोस् । आज गर्वका साथ भन्न सकिन्छ,जनता माध्यामिक विद्यालयबाट अध्ययन गरेका धेरै विद्यार्थीहरु सरकारी उच्च ओहोदामा पुगेका छन् भने कतिपयले भविश्य बनाउने गोरेटो खनिरहेका छन् ।

विद्यालयको महत्वपुर्ण पर्वको अवसरमा मैले आफुलाई त्यहि बालापनमा परिणत गरेको छु र बालापनलाई बालककै रुपमा सम्झन गरेको छु । मैले विताएका पलहरु स्वर्णिम अक्षरमा लेखिएका छन र मेरा जिन्दगीका पानाहरुमा खोपिएका छन । मेरो विद्यालय यात्रा कक्षा ३ देखि श्री जनता माध्यमिक विद्यालय सर्कुवाबाट प्रारम्भ भएको हो । यो हालको जैमुनि नगरपालि भित्र पर्दछ ।
आउनुहोस विगतका सम्झनाका पानाहरु एक एक गरि पल्टाउ –

मित्र सर सिउरे डाँडामा आँउदा साथ सातो जान्थ्यो –

मलाई यकिन त छैन,तर लाग्छ हामी ४ कक्षा पढ्ने बेलामा मित्र सरको पहिलो घण्टी पढाइ हुन्थ्यो । त्यो पहिलो घण्टी गणित । गणित भने पछि प्राय धेरै विद्यार्थीलाई मन नपर्ने विषय । त्यस माथी मित्र सरसँग सबै थुरुरु……। मित्र सर मौलाछाबाट आउन पर्ने हुँदा प्राय ढिलो आइपुग्ने गर्नुहुथ्यो । पहिलो घण्टी त्यस माथी मित्र सर नआउने भए पछि हामी बुकुर्सी मार्दै खेल्न जाने तयारीमा हुन्थ्यौं । तर अग्ला कदका मित्र सर सिउरे डाडामा लमक लमक आएको देखे पछि विद्यार्थीको निराशाको पारो चड्थ्यो । धेरै निराश हुने विद्यार्थी भनेका गृह कार्य नगर्ने विद्यार्थी हुन्थे । अत्यन्तै उत्कृष्ट पढाउने मित्र सरलाई अहिले पनि सम्झना छ । सायद उहाँले यथावत स्थानमा विद्यार्थीलाई शिक्षित गराइरहनु भएको छ । उहाँको दिर्घायुको कामना गर्दछु ।

गुरु प्रसाद सरको कुटे लौरी – 

कसैले कहिलै विर्सन नसक्ने अर्का सम्माननीय गुरु हुनुहुन्छ गुरु प्रसाद सर । उहाँ एकरातेको हुनुहुन्थ्यो र नेपाली पढाउनु हुन्थ्यो । उहाँको पढाउने शैली अरुको भन्दा भिन्न थियो । उहाँ प्राय कुटे लौरो लिएर कक्षामा जानुहुन्थ्यो र गृह कार्य नगर्नेको टाउकोमा फुरेउला उठाइदिनु हुन्थ्यो । उहाँको एउटा कडा नियम थियो प्रत्येक दिन एक पाना नेपाली लेखेर देखाउनु पर्ने । विदाको दिन कहिले काँही हामीले २–४ पाना लेखेर जगेडा पनि राख्ने गरिथ्यो, तर कहिले काँही उहाँले सबै पेज पल्टाएर सबैमा रातो टिक लगाइदिनुहुथ्यो त्यो बेला निकै रिस उठ्यो तर त्यो हाम्रै भलाईको लागी थियो । गुरु प्रसाद सर बसाई सरेर अहिले बुटवल आसपास कतै हुनुहुन्छ । उहाँ अहिले पनि उस्तै तन्दुरुस्त हुनुहुन्छ भन्ने खवर सुन्न पाइन्छ जसले निकै खुसी लाग्छ । आज पनि गुरुप्रसाद सरको नाम लिँदा वित्तिकै त्यहि बालापन, त्यहि कक्षा र त्यहि जनता माविको झलझली याद आँउद । सायद मेरा सहपाटी धेरैलाई यो कुराको याद पक्कै आँउछ ।

कृष्ण आचार्य सरको अर्थशास्त्र – 

विनामारेबाट सुर्कवा पढाउन आउने अर्का लोकप्रिय सर हुनुहुन्छ कृष्ण आचार्य । उहाँले हाम्रो टिमलाई अर्थशास्त पढाउनु भयो ९ र १० कक्षामा । उहाँको सबैलाई माया गर्ने शैलि अच्चमै राम्रो थियो । उहाँले पढाएको अर्थशास्तत्रको प्रभाव हामीलाई डिग्री लिँदा सम्म काम लाग्यो । माया र प्रेम सहित अध्यापन गराउनुको फाइदा केके हुन सक्छन भन्ने कुरा आचार्य सरबाट पनि सिक्न सकिन्छ ।

विष्णु बुबाले बजाउने घण्टीको आवाज – 

श्री जनता माविको घण्टी त्यो क्षेत्रका सबै स्कुल भन्दा उत्कृष्ट घण्टी भित्र पर्दथ्यो । त्यस माथी लामो अनुभव भएका विष्णु बुबाले बजाउने घण्टी बुर्म सम्म सुनिन्थ्यो । हामी ढाडा बाट आउनेहरुले पहिलो घण्टी बुर्ममै सुन्थ्यौ र कुदेर लाइन बस्न गिराउनमा आइ पुग्थ्यौ । विष्णु बुबा निकै मिलनशार र सबैलाई माया गर्ने हुनुहुन्थ्यो । उहाँको पसल पनि थियो त्यो पसलमा सात गेडी नकिनेका सायद कमै विद्यार्थी होलान । ठुलो आवाजमा बज्ने त्यो घण्टी र विष्णु बुवालाई मैले आज सम्म पनि विर्सेको छैन । कुनै मन्दीरमा जोडले घण्टी बज्दा पनि मैले मेरो बालापन विताएको त्यहि जनता माविसको घण्टीको याद आँउछ । अँ साच्चै, विष्णु बुबाले लामो समय बजाएको त्यो घण्टी र बाँसको लौरी अहिले पनि हाम्रो स्कुलमा छ होला कि छैन होला नी ?

गोविन्द सरको सातौं घण्टी – 

गोविन्द गुरु,पाको उमेर लामो समय विद्यालयमा सेवा गरेका शिक्षक हुनुहुन्छ । यो लेख लेख्न बेला सम्म उहाँ कस्तो अबस्थामा हुनुहुन्छ भन्ने मलाई थाहा छैन,मेरो कामना छ गुरुको आयु धेरै लामो होस । प्राय विद्यार्थीले गोविन्द सरलाई हेप्थे वा विद्यार्थीलाई गुरुले खासै गाली गर्नुहुदैनथ्यो । उहाँलाई सातौं घण्टीमा त्यो पनि शारिरीक शिक्षाको विषय पर्दथ्यो । खेल खेलाउन पर्ने उहाँको त्यो कक्षामा कोहि पनि बस्दैनथे । सबै सरलाई झुक्काएर भाग्थे । नढाटी भन्ने हो भने मैले पनि त्यसो गरेको छु अर्थात सरलाई झुक्काएर भागेको छु । गोविन्द सर रिसाएर पिट्नु भो भने २ दिन दुख्ने गरि पिट्नु हुन्थ्यो त्यो कुरा कहिले काँही सरको सुम्ला खाने केहि साथीहरुलाई अझै पनि ताजै होला ।

सँधै लड्ने रेशम र मिल्न टेकनाराण –

विद्यार्थी जिवनमा धेरैका आफ््ना आफ्ना साथी हुन्छन । सानाको साथीहरु त्यो बेलामा निकै घनिष्ट हुने भए पनि ठुलो भए पछि हेला भए जस्तो वा नचिने जस्तो हुन्छन । मैले सर्कुवा पढ्दा समेत धेरै साथीहरु थिए । तर यहाँ नाम छुटाउनै नहुने साथीहरुमा रेशम र टेकनाराण पर्दछन । रेशमसँग मेरो सधैँ झगडा पर्दथ्यो अर्थात यसो भनौं उनी र मेरो वार परिरहन्थ्यो । भाले जुदाईको बेला हामी कति लडेका छौं ? रेशमले यो लेख हेरे भने त्यो दिन पक्कै याद गर्ने छन् र सम्झने छन् । त्यो रिस त्यो लडाई केवल वाल हट मात्र थियो आज हामी त्यो सम्झनाको लागी मात्र याद गरिरहेका छौं रिसको रुपमा होइन । त्यस्तै टेकनारायणलाई पनि बिर्सन सक्दिन मैले । उनी मेरो र म उनको घरमा धेरै रात विताएका छौं । उनको आमाले मलाई आफ्नै छोरा जस्तो माया गर्नुहुथ्यो । अहिले पनि मैले बेला बेलामा उहाँसँग फोनमा कुरा गरिरहन्छु । मेरो जिन्दगीकै पहिलो घडि टेकनारायणको बुवाले मलाई इन्डियाबाट ल्याइदिनु भएको हो । त्यो घडि मैले लामो समय लगाए । अहिले मलाई सर्कुवा टेक्ने वित्तिकै यि धेरै कुराहरु मेरा मनहरुमा छचल्किएर आउँछन र विगतका सम्झना ताजा हुन्छन ।

र अन्त्यमा – 
सबै सम्झनाहरुले एक एक गरि लेख्दै जाने हो भने एउटा कितावनै बन्ने छ । हामीले दशैमा कमेरो खोजेर चिटिक्क पार्ने हाम्रो विद्यालय अहिले त सिमेन्टको बनेको छ त्यति मात्र होइन धेरै कुराहरुमा विकास भइरहेको छ । यसरीनै अझ प्रगती हुँदै जाओस शुभकामना छ । मेरो मावली गाँउको विद्यालय भएको कारणले मैले विद्यार्थीको रुपमा भन्दा पनि सबै गुरु गुरु आमाहरुबाट एउटा भन्जाको माया पाए । उत्कृष्ट नभए पनि कम्जोर पनि थिइन म विद्यालयमा । प्राय कापिकलको लागी कहिलै पैसा खर्च गर्नु परेन विभिन्न पुरस्कार र छात्रा बृतिले गुजारा चलेको थियो । यो लेख लेख्ने बेलामा मेरा आँखा अगाडी सबै साथीभाइहरु अनि मेरो विद्यालयको तस्विर आँसु बनि सम्झनामा खसिरहेको छ ।

प्रतिक्रिया