काठमाण्डौ । आज भाद्र कुशे औंसी, जसलाई बुवाको मुख हेर्ने दिनको रूपमा पनि चिनिन्छ, विशेष रूपमा मनाइँदै छ। यस दिन, छोराछोरीहरूले आफ्ना बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने, र आशिर्वाद लिने परम्परा छ। बुवालाई भेट्न नसक्नेले टेलिफोन वा भिडियो कल गरेर पनि आफ्नो सम्मान प्रकट गर्दछन्।
पिता भौतिक, भावनात्मक, जैविक, अनि अन्य धेरै सम्बन्धहरूको एक मात्र मेल हुन्। यसैले कुशे औंसीको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउँदै कोशेली दिने परम्परा छ।
बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर, शक्तिपीठ, र देवालयमा पुगेर पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिने गर्छन्।
'पितृदेवो भव' भन्ने धार्मिक मान्यताअनुसार, यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ। वैदिक सनातन धर्मावलम्बीहरूले आजको दिन घरमा पवित्र कुश भित्र्याउने चलन पनि छ, जसले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
कुशको महत्त्व वैदिक सनातन हिन्दू संस्कारमा अत्यन्त महत्वपूर्ण छ, र यो देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पतीको रूपमा मानिन्छ। आजको दिन घरमा ल्याइने कुश वर्षभरि प्रयोग गर्न सकिने धार्मिक मान्यता रहेको छ।
कतिपयले बुवाको मुख हेर्ने दिनलाई 'फादर्स डे' सँग तुलना गर्दछन्, तर यी दुई पर्वहरू फरक छन्। फादर्स डे सन् १९०९ मा पहिलो पटक अमेरिकामा मनाइएको थियो, जबकि बुवाको मुख हेर्ने दिनको परम्परा पौराणिक कालदेखि चल्दै आएको छ।