विद्युत निर्यातमा नेपालको सफलता – एक बर्षमा १६ अर्बको व्यापार

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारतलाई निर्यात गरेको छ, जुन १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको आयातको तुलनामा बढी हो। यसले नेपाललाई खुद विद्युत निर्यातकर्ता बनाएको छ।

प्राधिकरणले साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतलाई निर्यात गरेको जनाएको छ। विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) र एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन) लाई प्रतिस्पर्धी दरमा बेचिएको हो। औसत निर्यात दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा रहेको छ।

यता, शुख्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घट्दा नेपालले भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत आयात गरेको थियो। आयात दर प्रतियुनिट ९ रुपैयाँ १७ पैसा रहेको छ। गत वर्ष आयातभन्दा १२ करोड २३ लाख रुपैयाँ र १० करोड ९१ लाख युनिट विद्युत बढी निर्यात गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी केही वर्ष हिउँदमा आयात गर्न परे पनि निर्यातको परिमाण बढ्नेछ। विद्युत्को पर्याप्त उपलब्धताले विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट ल्याउँदै नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न मद्दत गरेको छ।

नेपालले भारतको ऊर्जा एक्सचेन्जमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो र नोभेम्बर ३ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश गरेको थियो। हाल नेपालले दैनिक करिब ७ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय