• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • जलविद्युत ,
  • पत्रपत्रिका

थप विद्युत् आपूर्तिका लागि भारतलाई आग्रह

काठमान्डौ - नेपाल सरकारले औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन भारतसँग थप विद्युत् आयात गर्न पहल गरेको छ। सरकारले साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन भारतलाई औपचारिक अनुरोध गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, भारतीय दूतावासमार्फत कूटनीतिक प्रयासहरू अघि बढाइएका छन्।

सुक्खा याममा जलविद्युत् उत्पादन घट्ने भएकाले साँझको समयमा विद्युत् आपूर्ति गर्न भारतलाई आग्रह गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए। हाल औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएको छ, जसले गर्दा लोडसेडिङको समस्या चर्किएको छ।

भारतले गत आइतबारदेखि रातको समयमा बिजुली आपूर्ति रोक्दा नेपालका औद्योगिक करिडोरहरूमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। नेपालका अधिकांश जलविद्युत् आयोजना ‘रन अफ द रिभर’ भएकाले सुक्खा याममा उत्पादन घटेर एक हजार मेगावाटमा सीमित हुन्छ। अहिले भारतबाट बिहान र दिउँसोमा करिब ७०० मेगावाटभन्दा बढी बिजुली आयात भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरण भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली खरिद गरी आपूर्ति सुधार गर्ने प्रक्रियामा छ। नेपाल र भारतबीच फेब्रुअरीमा सम्पन्न बैठकमा मार्च १५ देखि जुन ३० सम्म ‘सोलार आवर’ अवधिमा मात्र बिजुली आपूर्ति गर्ने सहमति भएको थियो।

लोडसेडिङले औद्योगिक क्षेत्रलाई गम्भीर असर पार्न थालेपछि निजी क्षेत्रका दुई प्रमुख संस्था, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ,ले सरकारलाई लोडसेडिङ हटाउन आग्रह गरेका छन्। उनीहरूले अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादनमा गम्भीर असर पारिरहेको बताएका छन्।

महासंघका अनुसार बारम्बार दोहोरिने विद्युत् आपूर्तिको अस्थिरताले उद्योगका मेसिनरी र उपकरणहरूमा क्षति पुर्‍याई मर्मत तथा प्रतिस्थापन खर्च बढाएको छ। उद्योग परिसंघले पनि लोडसेडिङले उत्पादन लागत बढाउनुका साथै समग्र अर्थतन्त्रलाई असर पार्ने भन्दै उद्योग क्षेत्रका लागि नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय