अत्याधिक गर्मीले ३ सय २० जनाको ज्यान गयो

नयाँ दिल्ली -  तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो।


बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्।

४८।२ डिग्री मापन, १४ राज्यमा तातो लहर

मौसम विभागका अनुसार शुक्रबार भारतमा सबैभन्दा बढी ४८।२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। जुन कानपुरमा रेकर्ड गरिएको हो। यसैगरी दोस्रो गर्मी हुने स्थानमा हरियाणाको सिरसा छ। जहाँ ४७।८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। राजधानी नयाँ दिल्लीमा भने ४७ डिग्री सेल्सियस मापन भएको थियो। राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिसा, महाराष्ट्र, मध्येप्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, उत्तराखण्ड, आन्ध्र प्रदेश र हिमाचलमा शनिबार तातो लहरको सम्भावना देखिएको विभागले जनाएको थियो।

राष्ट्रिय संकटकाल घोषणा गर्न निर्देशन

चरम मौसमी समस्या र गर्मीले अधिक समस्या भएपछि भारतीय अदालतले एक सातामा सयौं मानिसको निधन भएको उल्लेख राष्ट्रिय संकटकाल घोषणा गर्न सरकारलाई निर्देशन दिएको छ। तापक्रम ४८ डिग्री नाघेपछि भएको अधिक गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय संकटकाल घोषणा गर्न भनेको हो। अनुसन्धानकर्ताहरूले मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याएको बताएका छन्। भारत विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र हो। जुन देश हरित गृह ग्यासहरूको तेस्रो सबैभन्दा ठूलो उत्सर्जक हो। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय