सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, खरिदभन्दा बिक्री गर्नेको चाप बढ्दो

काठमाडौँ — विश्व बजारमा भइरहेको आर्थिक र राजनीतिक अस्थिरताले सुनको मूल्य लगातार नयाँ उचाइमा पुर्‍याइरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। चैत महिनामा मात्र प्रतितोला सुनको मूल्य दैनिक रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चैत १ गते सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो। त्यसयता लगातार वृद्धि हुँदै चैत २० गतेसम्म आइपुग्दा यो मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँमा पुगेको छ। यद्यपि, चैत १९ र २० को तुलनामा मूल्य केही घटेर १ लाख ७९ हजार ७ सय रुपैयाँबाट १ लाख ७९ हजार १ सय रुपैयाँमा झरेको थियो। तर, चैत २१ गते फेरि नयाँ कीर्तिमान बनाउँदै १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १ सय ४८ डलर पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। त्यही आधारमा स्वदेशी बजारमा पनि अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।

यता, बजारमा सुनको मूल्य यति चुलिंदै जाँदा किन्नेभन्दा बेच्ने ग्राहक बढी देखिन थालेका छन्। सुन व्यवसायीहरूका अनुसार मूल्य वृद्धिको कारण उपभोक्ताहरू पुराना गहना बेच्ने वा साट्न आउने प्रवृत्ति बढी देखिएको छ। महासंघका उपाध्यक्ष पवन सोमानीका अनुसार बजारमा आउने करिब ७५ प्रतिशत ग्राहकले पुरानो गहना बेच्ने वा नयाँ साट्न खोज्ने गरेका छन्।

सुनको औपचारिक मूल्य तोकिए पनि गहना खरिद गर्दा ज्याला र जर्तीका कारण उपभोक्ताले १२ देखि १८ प्रतिशतसम्म बढी रकम तिर्नुपर्छ। औसत १२ प्रतिशतको हिसाबले हेर्दा एक तोला सुनको गहना किन्दा उपभोक्ताले २ लाख १ हजार ९ सय ३६ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

महासंघका अनुसार अहिले मुल्य तोक्दा अन्तर्राष्ट्रिय बजारको अवस्था हेरेर निर्धारण गरिन्छ। व्यवसायीहरू भन्छन्— आर्थिक संकट, युद्ध, तनाव र अस्थिरताका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित हुँदा त्यसको असर नेपाली बजारमा पनि परिरहेको छ। हाल महासंघमा करिब ७ हजार गहना व्यवसायी आबद्ध भए पनि नेपालभर करिब २० हजार व्यवसायी क्रियाशील रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय