काठमाडौं – गीतसंगीत समाजको ऐना हो। समाजमा भएका घटनाहरूलाई कतिपय गीतले चित्रण गर्छन् भने केही कल्पनामा आधारित हुन्छन्। यस्तै, केही दिनअघि सार्वजनिक भएको एउटा गीत अहिले विशेष चर्चा बटुलिरहेको छ।
गायक प्रेम सापकोटा सोनुको आवाजमा रहेको “कठोर मान्छे” बोलको गीतमा सन्तानले आमाबुवालाई हेला गरेको विषय उठाइएको छ। हाल आयुष सिंह ठकुरीले आफ्नी आमालाई गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। यो गीतको विषयवस्तु पनि त्यही प्रसंगसँग मिल्न गएकोले गीतलाई थप चासोका साथ हेरिएको छ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले सन्तानले आमाबुवाप्रति गर्ने व्यवहारबारे चर्को प्रतिक्रिया जनाइरहेका बेला यो गीतले पनि आमाबुवाको सम्मान गर्ने सन्देश दिन्छ। गायक सापकोटा सोनुले गीतले समाजमा देखिएका यस्ता यथार्थ घटनाहरूलाई उजागर गर्ने प्रयास गरेको बताए।
गीतको शब्द सञ्चारकर्मी कृष्ण आचार्यले लेखेका हुन् भने प्रेम सापकोटा सोनु र शान्ति श्री परियारले स्वर दिएका छन्। गीतको म्युजिक भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन्।
गीतले श्रोताहरूको मन जितिरहेको छ र यसले सामाजिक सन्देश प्रवाह गर्ने काम गरेकोछ।