काठमाडौं— जीवन बीमा व्यवसायको आकार चालु आर्थिक वर्षको पाँच महिनामा ६५ अर्ब ७४ करोड रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार व्यवसायमा ६.४७ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पाँच महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले कुल ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ थियो।
नेपाल लाइफले पाँच महिनामा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै बजारको २८.५४ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.९६ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ।
नेशनल लाइफले दोस्रो स्थानमा रहँदै ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। यो अघिल्लो वर्षभन्दा ११.५१ प्रतिशतले बढी हो। तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एकल आइसी) ले ७ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ।
व्यवसाय वृद्धिदरको आधारमा रिलायबल नेपालले सबैभन्दा ठूलो उछाल लिएको छ। कम्पनीले २५.४४ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
सिटिजन लाइफले पनि १८.५९ प्रतिशतले व्यवसाय वृद्धि गर्दै २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रभु महालक्ष्मी लाइफ, आइएमई लाइफ र सूर्यज्योति लाइफले क्रमशः १५.९०, १५.७०, र १५.५७ प्रतिशतको वृद्धिदर हासिल गरेका छन्।
समग्रमा बीमा व्यवसाय बढे पनि हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमाको व्यवसाय घटेको छ। हिमालयन लाइफको बीमा शुल्क ०.११ प्रतिशतले घटेर ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँमा झरेको छ। राष्ट्रिय जीवन बीमाको व्यापार ५०.१० प्रतिशतले घटेर २ अर्ब २५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।
सानिमा रिलायन्स, एशियन लाइफ, सन नेपाल, र मेटलाइफले पनि आ–आफ्नो व्यापार वृद्धि गरेका छन्। पाँच महिनामा सानिमाले ९.६३ प्रतिशत, एशियनले ११.०९ प्रतिशत, सन नेपालले ८.७१ प्रतिशत, र मेटलाइफले ६.३५ प्रतिशत व्यापार वृद्धि गरेका छन्। बीमा क्षेत्रको यो वृद्धिले आगामी महिनामा व्यवसाय अझै सुधार हुने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।