दुबईमा नेपाली नागरिकमाथि ठगी, दूतावास र प्रहरी सक्रिय

 

भुमि सुबेदि : दुबईस्थित बर्दुबईको RKS Documents Services (Sharaf DG Exit 4) बाट ठगिएको गुनासोपछि एक नेपाली नागरिकको उजुरीका आधारमा दुबई प्रहरीले नेपाली दूतावाससँग समन्वय गरी संयुक्त रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। चितवनका राजकुमार देवकोटाले नयाँ भिसा बनाइदिने आश्वासनमा १५०० युएई दिराम बुझाएका थिए, तर न त भिसा बन्यो न त पैसा फिर्ता भयो।

राजकुमार देवकोटा वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। भिसाको म्याद सकिएपछि उनले नयाँ भिसा प्रक्रियाका लागि RKS Documents Services सँग सम्पर्क गरेका थिए। कम्पनीले भिसा बनाइदिने भन्दै रकम लिएपछि महिनौंसम्म कुनै प्रक्रिया अघि बढेन।

समस्या समाधानको लागि देवकोटाले नेपाली दूतावासमा उजुरी दिएपछि दूतावासले दुबई प्रहरीसँग सहकार्य गर्दै अनुसन्धान सुरु गरेको हो। दूतावासका एक प्रतिनिधिका अनुसार, "घटना गम्भीर भएकोले कानुनी प्रक्रिया अगाडि बढाइएको छ। नेपाली श्रमिकहरू ठगीमा नपरोस् भन्ने हाम्रो प्राथमिकता हो।"

दुबई प्रहरीले कम्पनीका सञ्चालक र सम्बन्धित कर्मचारीहरूसँग बयान लिई अनुसन्धान अघि बढाइरहेको जनाएको छ। कानुनी प्रक्रिया सुरु भइसकेको बताइएको छ।

यस घटनाले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, अनियमितता, र एजेन्टहरूको लापरबाहीप्रति फेरि एकपटक प्रश्न उठाएको छ। गैरआवासीय नेपाली संघ (NRNA) दुबई शाखाले घटनाको निगरानी गरिरहेको र पीडितलाई कानुनी सहयोग पुर्‍याउने जनाएको छ।

यसैबीच, श्रमिक अधिकारकर्मीहरूले यस्ता घटनाबाट बच्न सरकार र दूतावासहरू अझ सजग हुनुपर्ने र श्रमिकको विश्वास बलियो बनाउन कूटनीतिक हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय