यातायात विभागमा आगजनीपछि इम्बोस्ड नम्बर प्लेट अनिश्चित

काठमाडौँ । लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य रूपमा जडान गर्ने सरकारी तयारी भदौ २३ र २४ गतेको आन्दोलनका कारण अनिश्चितकालका लागि स्थगित भएको छ।

आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट, मेसिन, सर्भर र लाइसेन्स छपाइ गर्ने उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसले गर्दा दर्ता, नामसारी र नवीकरणसहितका सेवा समेत अनिश्चितकालका लागि रोकिएका छन्।

विभागका निर्देशक श्रीकान्त यादवका अनुसार क्षति यति ठूलो छ कि अब के–के बाँचेको छ भन्ने लेखाजोखा गर्नुपर्ने अवस्था आएको छ। उनका अनुसार करिब ८ लाख इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएका छन्। यसअघि साढे १२ लाख प्लेट छपाइका लागि अर्डर दिइएकोमा करिब १ लाख ९० हजार प्लेट मात्र जडान भइसकेको थियो। बाँकी लाखौं प्लेट उद्योगमा, बाटोमा र कार्यालयहरूमा क्षति भएका छन्।

यससँगै ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद आगामी मङ्सिर ११ गतेसम्म मात्र रहेको छ। सम्झौताअनुसार तोकिएको समयमा प्लेट जडान नगरे राज्यले करिब ४ अर्ब रुपैयाँ बराबरको हर्जाना तिर्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ।

सरकारले सन् २०१५ मा सबै सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्यसहित बङ्गलादेश र अमेरिकाको संयुक्त लगानीमा रहेको कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। तर रिट, भ्रष्टाचारको आरोप, प्राविधिक समस्या र हालको आन्दोलनलगायत कारणले योजना पटक–पटक प्रभावित हुँदै आएको छ।

आन्दोलनपछिको क्षतिले अब तोकिएको म्यादभित्र काम सम्पन्न हुने सम्भावना न्यून देखिएको छ। विभागले यसबारे ठेकेदार कम्पनीसँग छलफल गरेर आगामी कदम तय गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय