काठमाण्डौ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकको आन्दोलनले सोमबार उपत्यकामा इन्धन अभाव भएको छ ।
आइतबारदेखि नै निजी पेट्रोल पम्पहरुले पेट्रोल र डिजेलको बिक्री वितरण रोकेका छन्। निजी पम्पहरुले पेट्रोल नदिए पनि सरकारी पम्पहरुले भने दिइरहेका छन्। जसले गर्दा सरकारी पम्पहरुमा सोमबार विहानैदेखि पेट्रोल भर्नको लागि लामो लाइन लागेको छ।
पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकहरूले सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी रोकेका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अनुसार ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनु पर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनु पर्ने उनीहरूको माग रहेको छ।
ट्यांकर चालकहरूले जेठ ३२ गते देखि कालोपट्टी बाँधेर काम गरेका थिए । यस्तै, उनीहरूले आइतबार बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गर्दै आएका छन् । करिब ३०० ढुवानीका ट्यांकर डिपो अघि तेर्स्याएर उनीहरुले आन्दोलन गरिरहेका छन् ।
आफ्नो माग पुरा नभएसम्म निगमको डिपोमा तेल नखन्याउने र पम्पहरूलाई पनि वितरण नगर्ने संघले चेतावनी दिएको छ । ट्याङ्कर चालकहरूको माग पुरा गर्न निगम र मन्त्रालयले चासो नै नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिनु परेको जनाएका छन् । संघका अनुसार आफ्ना सात बुँदे माग पुरा नगरेसम्म ढुवानी सुचारु हुने छैन। चालकहरूको आन्दोलनका कारण थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।
इन्धन वितरण प्रभावित हुँदा काठमाडौंका सबैजसो निजी पेट्रोल पम्पमा पेट्रोल नभएको सूचना नै टाँसेका छन्। पेट्रोलको आपुर्ति नहुँदा सर्वसाधारणले भने सास्ति ब्यहोर्नुपरेको छ।