काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससहितको संयुक्त सरकार बनेको सय दिनमा परिणाममुखी काम गर्न नसकेको स्वीकार गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार सय दिने उपलब्धि सार्वजनिक गर्दै ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई प्रभावित गरे पनि प्रयासरत रहेको बताएका छन्।
‘प्राकृतिक विपत्तिले केही समय काममा ढिलाइ गर्यो, तर सम्हाल्दै अघि बढ्यौं,’ उनले भने। ३५ जिल्लाका ३० लाखभन्दा बढी किसानले दूधको भुक्तानी पाउन नसकेको अवस्थामा बितेका सय दिनमा झन्डै १५ लाख दूग्ध किसानले भुक्तानी पाएको उल्लेख गर्दै, सरकारले ६० करोड रुपैयाँ निकासा गरेको बताए।
त्यस्तै, करिब ७५ हजार उखु किसानलाई वर्षौँदेखि नपाएको भुक्तानी सरकारको पहलमा दिइसकिएको पनि ओलीले जानकारी दिए।
ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कानुनलाई प्राथमिकता दिएको भन्दै बाढी, जनधनको क्षति, र आलोचना खेपेको सरकारको सुस्त कार्यशैलीलाई पनि स्वीकार गरेका छन्। अबको सय दिनमा परिणाममुखी काम गर्ने वाचा गर्दै ओलीले आगामी दिनमा सुधारका कदमहरू चालिने बताएका छन्।