काठमाडौं — नेपाल सौर्य विद्युत उत्पादन संघको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा एक दिने अभिमुखिकरण कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा सौर्य सिँचाइ प्रवर्द्धन, प्राविधिक मापदण्ड, कार्यान्वयन प्रक्रिया र अनुदान सम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।
नेपालमा दैनिक औसत ५ देखि ६ घण्टा सम्म घाम लाग्ने भएकाले विशेष गरी तराईका समथर र घाम प्रशस्त पर्ने क्षेत्रमा सौर्य सिँचाइ प्रविधि निकै प्रभावकारी हुने जनाइएको छ। हाल मुलुकमा ३० लाख हेक्टर खेतीयोग्य जमिनमध्ये केवल १४–१५ लाख हेक्टर मात्र सिँचाइको पहुँचमा रहेकोमा बाँकी १५ लाख हेक्टर जमिन सिँचाइ सुविधा विहीन अवस्थामा रहेको उल्लेख गरिएको छ। सोमध्ये कम्तीमा ५ देखि ७ लाख हेक्टर जमिनमा सौर्य प्रविधिबाट सिँचाइ विस्तार गर्न सकिने अनुमान गरिएको छ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी सौर्य ऊर्जा प्रमुख सहायक निर्देशक शुभ लक्ष्मी श्रेष्ठले सौर्य सिँचाइ योजनाका विषयमा प्रस्तुति दिँदै अहिलेसम्म ३३६ वटा परियोजनाले काम गर्ने अनुमति प्राप्त गरिसकेको र ८० वटा परियोजनाले पुनः अनुमति प्राप्त गरिसकेको जानकारी दिइन्। उनले निर्माण कार्य सम्पन्न भई असारसम्म भुक्तानी प्रक्रिया सम्पन्न गर्नुपर्ने पनि बताइन्।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सौर्य सिँचाइले कृषि उत्पादन र किसानको जीवनस्तर उकास्न ठूलो योगदान पुर्याउने भएकाले काम अघि बढाउँदा गुणस्तरमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए। साथै, कार्यान्वयन प्रक्रिया, कानुनी तथा सम्झौताका पक्ष, प्रणाली र प्राविधिक मापदण्ड, परीक्षण तथा सञ्चालन सम्बन्धी विषयमा पनि जानकारी दिइएको थियो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशिक्षक प्रशिस पौडेलले पाँच लाख रुपैयाँभन्दा तल र माथिका आयोजनाका हकमा फरक नियम लागू हुने जानकारी दिँदै प्राविधिक पक्षमा सहभागीहरूलाई प्रशिक्षित गरे।
तालिममा केन्द्रका अमालगिहक अन्सारीले समग्र प्रक्रिया र सौर्य सिँचाइका चुनौती र सम्भावनाहरूबारे प्रशिक्षित गरे।
कार्यक्रमको सञ्चालन महासचिव दीपक गौतमले गरेका थिए भने स्वागत मन्तव्य कार्यबाहक अध्यक्ष हरिनारायण गौतमले दिएका थिए। कार्यक्रममा देशभरबाट आएका ५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।