हवाई यात्रुको चाप थामिनसक्नु, टिकट पाउनै मुस्किल


काठमाडौं– पछिल्लो समय आएको भारी वर्षाका कारण सडक मार्गमा समस्या आएसँगै हवाई यात्रुको संख्यामा वृद्धि भएको छ । असोज १४ देखि १९ गतेसम्म १ लाख ५ हजार ४ सय ३१ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेका छन् । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकभरका ४७ राजमार्गमा सडक अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप परेको हो ।


असोज १४ मा ५५०, १५ मा ४४३ र १६ मा ३७५ वटा उडान भएका छन् । ती उडानबाट क्रमशः १९ हजार १५६, १८ हजार १३७ र १७ हजार ४ यात्रुले उडान तथा अवतरण गरेका छन् । १६ र १७ गते क्रमशः ३२७ र ३०९ वटा उडान भएका छन् । ती उडानबाट १६ हजार ७५३ र १८ हजार ३ जना यात्रुले यात्रा गरेका छन् । १९ असोजमा भने २९९ उडानमार्फत १६ हजार ३ सय ७८ यात्रुले यात्रा गरेका छन् ।


आन्तरिक उडानमा चाप हुँदा यात्रु र उडानको समय तालिका व्यवस्थापनमा सकस परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । उनले भने, ‘सामान्य समयमा १२ हजार यात्रुको व्यवस्थान गर्दै आएको विमानस्थलको आन्तरिक टर्मिनलले पछिल्लो समय दैनिक १९ हजारसम्म यात्रु व्यवस्थान गर्नुपरेको छ । माग र आपूर्तिको आधारमा उडान संख्या थप गरिएको छ ।’ आन्तरिकमा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले उडान भरिरहेका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैंअघि उपत्यकाबाट बाहिरिने हवाई टिकट प्रायः बुक भइसकेको छ । उनले भने, ‘उडान क्षमता र यात्रुको चाप हेरेर थप उडान गर्ने गरिएको छ ।’ काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वीपी राजमार्ग अवरुद्ध भएसँगै विराटनगर, भद्रपुर, जनकपुर र राजविराजमा हवाई यात्रुको अधिक चाप छ । पोखरा, भैरहवा र नेपालगञ्जको पनि टिकट पाउन मुस्किल छ । यतीले सातवटा विमानमार्फत पोखरामा १०, विराटनगरमा ७, भैरहवामा ७, सिमरामा २, भद्रपुर, नेपालगञ्ज र जनकपुरमा ४–४ दैनिक उडान गर्दै आएको छ ।


यसैगरी बुद्धले १७ वटा विमानमार्फत मुलुकभर उडान भरिरहेको छ । बुद्धका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पछिल्लो समय हवाई यात्रु बढेसँगै उडान संख्या पनि वृद्धि गरिएको छ । ‘उपत्यकाबाट बाहिरिने उडानमा अकुपेन्सी फुल भए पनि काठमाडौं अवतरण गर्ने यात्रुको संख्या कम छ । बाहिर जान दशैं अगाडिको टिकट सबै बुक भइसकेको छ,’ उनले भने । बुद्धले पोखरामा १७, विराटनगरमा ९, भैरहवामा ११, सिमरामा ६, भद्रपुरमा ७, भरतपुरमा ८, नेपालगञ्जमा ६, जनकपुरमा ७, धनगढी र सुर्खेतमा दैनिक ३–३ उडान गर्दै आएको छ । तुम्लिङटार र राजविराजमा १–१ उडान हुँदै आएको छ ।


श्री एयरलाइन्सले सात वटा विमानमार्फत उडान भर्दै आएको छ । श्रीका प्रवक्ता अनिल मानन्धरका अनुसार गएको हप्ता यात्रुको अत्यधिक चाप भए पनि विस्तारै कम हँुदै गएको छ । उनले भने, ‘नेपालगञ्ज र धनगढीमा विस्तारै यात्रुको प्रेसर कम हुँदै आएको छ, अन्य क्षेत्रमा भने उस्तै छ । उडान थप भएको गन्तव्यमा समेत टिकट फुल भएको छ ।’ श्रीले विराटनगरमा ६, पोखरामा ६, भरतपुरमा १, भैरहवामा ४, नेपालगञ्जमा ५ र धनगढीमा ४ उडान गर्दै आएको छ ।
यात्रुको चाप र उडान संख्या वृद्धि भएसँगै त्रिभुवन विमानस्थलमा राति पनि उडान तथा अवतरण भइरहेको छ । विमानस्थल खुला हुने गन्तव्यमा बिहान ५ बजेदेखि नै आन्तरिक उडान भइरहेका छन् । बुद्ध एयरले विराटनगर, भद्रपुर, भरतपुर र जनकपुरमा दुई–दुई उडान थप गरेको छ । यतीले जनकपुर, भद्रपुर र नेपालगञ्जमा एक–एक उडान थपेको छ । श्रीले भैरहवा र नेपालगञ्जमा उडान थप गर्ने योजना रहेको जनाएको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय