काठमाडाैं - सिरहा जिल्लाको औरही गाउँपालिका-३ खजनपुर टोलमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। ६५ वर्षीय भालेश्वर यादवको सोमबार साँझ घरायसी विवादपछि आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए।
गम्भीर घाइते भएका भालेश्वरलाई प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाँदै गर्दा राति ११:४० बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्ति सापकोटाले जानकारी दिए।
कुटपिटको खबर पाउनासाथ प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइसकेको छ। मृतक भालेश्वरको शव पोष्टमार्टमपछि अर्का छोरा रामप्रताप यादवलाई जिम्मा दिइएको छ।
पक्राउ परेका शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।