ऐतिहासिक जीत: अफगानिस्तान पहिलोपटक टी-२० विश्वकप सेमिफाइनलमा

काठमाडौं । रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तानले पहिलोपटक आईसीसी टी(२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुपर आठ अन्तर्गतको अन्तिम खेलमा बंगलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको हो।

जीतका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अलआउट भयो। बंगलादेशका लिटन दासले अर्धशतक बनाउँदै सर्वाधिक ५४ रन बनाए।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान ४ विकेट लिए। फजल फरूकी र गुलबदिन नइबले समान १ विकेट लिए।

आजको खेलमा अफगानिस्तानका कप्तान राशिदले टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० विकेट लिने कीर्तिमान बनाएका छन्। उनले ९२ खेलमा १ सय ५२ विकेट लिएका छन्।

यसै खेलमा राशिद खान टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै ४ विकेट हल लिने खेलाडी पनि बनेका छन्। उनले आजको खेलसहित ९ पटक ४ विकेट हल लिएका छन्।

अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको थियो। २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो। रहमनुल्लाह गुरबाजले ४३ रन बनाउँदै सर्वाधिक रन बनाए।

बंगलादेशका लागि रिशाद होसेनले ३ विकेट लिए।

अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्नेछ। खेल पर्सि बिहान सवा छ बजे सुरु हुनेछ।

टी(२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा पुगिसकेका छन्।

अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया