कमल राज ढकाल । नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा ‘प्रणय दिवस’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ ।
क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागिएको हो ।
सौराहामा आज पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक ध्रुव गिरीले सौराहालाई विश्व पर्यटन बजारमा थप परिचित बनाउन ‘प्रणय दिवस’ को अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म सडकमा फुड फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिए । हरेक दिन हुने सडक फुड फेस्टिबलमा विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने उनले बताए ।
३ दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानिय, स्वदेशी तथा विदेशी खाना, स्थानिय कला संस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, उज्यालो सौराहालाई निरन्तरता, शैक्षिक विपन्न कोष मार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग, वातावरण प्रदुषणमा सहयोग पुग्ने गरी प्लाष्टिक जन्य पदार्थहरुको न्युनिकरण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।
फुड फेस्टिबलमा कार्यक्रममा विभिन्न जातजाती, आमा समुह, भजन समुह लगाएत संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, सौराहा ड्याक सम्म हरेक दिन बेलुकी विभिन्न जातजातीहरुको कला तथा संस्कृति सहितको प्रदर्शन गरिने गिरीले बताए ।
फेस्टसबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यहाँका व्यवसायीले विश्वास लिएका छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार उपलब्ध हुने बताउनु भयो। फुड फेस्टिबलमा दैनिक ५ हजार आन्तरिक तथा बाहृय पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।फुड फेस्टिबलमा करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
यही माघ २९ देखि फागुन १ गते साँझ ५ बजे देखि राति १० बजे सम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजे देखि राति ११ बजे सम्म कार्यक्रम हुनेछ ।
नेपालमा आउने कुल पर्यटकमध्ये २२ प्रतिशत सौराहा आउने गरेका छन् । सौराहामा पर्यटकहरु जंगल सफारी, हात्ती सफारी, जीप सफारी, ढुङ्गा सयर गर्नको लागि आउने गर्दछन् ।