काठमाडाैं - इन्द्रजात्रा पर्व आज काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानहरूमा परम्परागत रूपमा मनाइँदैछ। देवराज इन्द्रको पूजा र आराधना गर्दै यो पर्व हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीमा मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीमा हनुमानढोका अगाडि इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि सुरु हुने यो पर्व आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजाका साथ मनाइन्छ।
इन्द्रध्वजको लिङ्गो ठड्याएपछि जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच र दशअवतार नाच देखाइन्छ। साथै, इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकको रूपमा पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ। इन्द्रध्वजको लिङ्गो आठौँ दिनमा लडाउने विधान रहेको छ।
अनन्त चतुर्दशी पर्वको अवसरमा भगवान् विष्णुको पूजा पनि आज गरिन्छ। अनन्त मन्त्रणगरी चोखो धागो बाँध्नाले शुभ हुने विश्वास छ, भने केहीले आजका दिन जनै मन्त्रने पनि गर्छन्।