काठमाडौं । भारतले नेपालका १२ जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारतको तोकिएको प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका यी आयोजनाबाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको हो, जुन काठमाडौंस्थित भारतीय दूतावासले पुष्टि गरेको छ। यो सम्झौतासँगै कुल स्वीकृत परिमाण ६ सय ९० मेगावाटबाट बढेर ९ सय ४१ मेगावाट पुगेको छ।
नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने तयारी गरिरहेको छ। यसअघि नै नेपालले गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरी खुद विद्युत् निर्यातकर्ता र राजस्व उत्पादनकर्ता बनेको छ। सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो, जसलाई तीन वर्षभन्दा कम अवधिमा २४ गुणाभन्दा धेरै बढाइएको छ।
इन्डियन इनर्जी एक्सचेन्जको ‘डे अहेड मार्केट’ मा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता, भारतले ‘रियल टाइम मार्केट’ मा समेत पहुँच प्रदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरिसकेको छ।
भारतले खरिदकर्ताका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साका रूपमा नेपालबाट हुने जलविद्युत् आयातलाई गणना गर्ने प्रावधान समेत खोलिएको छ, जसले खरिदकर्तालाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ। यो सम्झौताको पहिलो वर्ष हो र हालसम्म लगभग १ हजार मेगावाट निर्यात भइसकेको छ। यी गतिविधिसँगै नेपाल दक्षिण एसियामा प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा अग्रसर छ। बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता १३ साउनमा हस्ताक्षर गर्ने योजना भए पनि बंगलादेशको पछिल्लो राजनीतिक परिस्थिति कारण स्थगित भएको छ।