काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घनमा 'ई-चलान' र नागरिक एपमार्फत डिजिटल जरिवाना तिर्ने प्रणाली सुरु

काठमाडाैं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने चालकहरूलाई अब ‘ई-चलान’ (डिजिटल चिट) दिने र नागरिक एपमार्फत तत्कालै जरिवाना तिर्न सक्ने नयाँ प्रणाली सुरु गरेको छ। प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार आइतबारदेखि लागू भएको यो व्यवस्थाले चालकहरूलाई सजिलो बनाउने विश्वास गरिएको छ।

नयाँ प्रणाली अनुसार, ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेको अवस्थामा त्यही ठाउँमै डिजिटल पेमेन्ट गर्ने सुविधा उपलब्ध गराइएको छ। यसले चालकहरूलाई झन्झटमुक्त बनाउँदै जरिवाना तिर्ने प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनेछ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरिसकेपछि ‘ट्रायल’ पास गर्नेहरूलाई अब लाइसेन्स कार्ड बोकिनुपर्ने आवश्यकता नरहेको पनि जनाएको छ। यसले लाइसेन्स छपाइमा देखिएको समस्यालाई समाधान गर्ने लक्ष्य राखिएको छ।

यो प्रणाली पहिलो चरणमा काठमाडौं, भक्तपुर, र ललितपुर जिल्लामा कार्यान्वयनमा ल्याइएको छ। ट्राफिक प्रहरीलाई डिजिटल चिट काट्नका लागि विशेष उपकरणहरू प्रदान गरिएको छ। यससँगै अब सवारी चालकले नागरिक एपमार्फत आफ्नो चालक अनुमतिपत्र देखाएर प्रमाण प्रस्तुत गर्न सक्नेछन्।

सवारी चालकको नागरिक एपमा रहेको क्युआर कोड ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत स्क्यान गरी उल्लङ्घनको विवरण दर्ता गर्ने व्यवस्था गरिएको छ। त्यसपछि नागरिक एपमा उल्लङ्घनको विवरण र जरिवाना रकमसहितको ‘डिजिटल चिट’ देखाइनेछ, जसबाट चालकले डिजिटल वालेटमार्फत सजिलै जरिवाना तिर्न सक्नेछन्।

प्रतिक्रिया