ऐतिहासिक सफलता: यू-१९ महिला टी-२० विश्वकपमा नेपालको स्थान पक्का

काठमाडौं – नेपालले यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ। अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेर नेपालले जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो।

युएईले दिएको ८४ रनको लक्ष्यलाई पछ्याउँदै नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर सहजै जित हात पार्यो। यसअघि टस हारेर पहिला बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमै रोकेको थियो।

यू-१९ महिला टी-२० विश्वकपमा १६ देश सहभागी हुँदैछन्। आयोजक मलेसिया र अघिल्लो विश्वकप खेलेका १० टिमसँगै पाँच क्षेत्रीय छनौटबाट आएका देशहरूले यस प्रतियोगितामा भाग लिनेछन्। नेपाल, नाइजेरिया, सामोआ, स्कटल्याण्ड, र अमेरिका क्षेत्रीय छनौटबाट आएका हुन्। नेपाल समूह डी मा पर्दा अन्य टोलीहरूमा अस्ट्रेलिया, बङ्गलादेश, र स्कटल्याण्ड रहेका छन्।

यसअघि २०२३ मा भएको पहिलो यू-१९ महिला टी-२० विश्वकपमा भारतले उपाधि जितेको थियो, जहाँ नेपाल तेस्रो स्थानमा रहँदै एसियाबाट छनोट हुन सकेको थिएन। यस पटक भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान पक्का गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय