काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।
यही वैशाख २० गते बसेको मन्त्रिपरिषदको बैठकले हाल चलनचल्तिमा रहेको १ सय रुपैयाँको नोटमा नेपालको लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।
नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राख्ने र १ सयदरको बैंक नोटको डिजाइनमा परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ
मन्त्रिपरिषदले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
२०८१ साल वैशाख १३ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरुः
उच्च अदालत पाटनका मान्य न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाजसमेत गर्नेगरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने ।
नेपाल न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा र सचिव फणिन्द्र गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गर्ने ।
नेपाल न्याय सेवा तर्फका १२ जना सहसचिवहरुको न्याय सेवा आयोगको सिफारिसमा विभिन्न निकायमा सरुवा गर्ने ।
बुटवल महानगरपालिका वडा नम्बर १० मा तोकिएको ४ किल्लाभित्र पशु वधशाला स्थापना गर्न इजाजत दिने ।
२०८१ वैशाख १७ देखि २१ सम्म कम्बोडियाको निर्वाचन आयोगको क्षमता विकास कार्यक्रमको अवलोकन गर्न निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने ।
बालश्रम निषेध तथा नियमित गर्ने ऐन, २०५६ को अनुसूचिमा जोखिमपूर्ण व्यवसाय तथा कामहरु थप गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
विभिन्न सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीका २८ जना सहसचिवहरुको सरुवा गर्ने ।
राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० स्वीकृत गर्ने ।