यसवर्षका तीज गीतहरूमा पूर्वजस्तै चर्चा हुन नसकेको बेला, लोक संगीतप्रेमीहरूलाई विष्णु माझीको नयाँ तीज गीतको प्रतीक्षा थियो। हरेक वर्ष तीजको अवसरमा गीत सार्वजनिक गर्दै आएकी विष्णुले यसपालि पनि प्रशंसकहरूलाई निराश पारिनन्।
शनिबार बिहान युट्युबमा 'आइनँ आमा...' बोलको विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। गीतमा विष्णुको एकल स्वरले सिंगारिएको छ, जसमा उनले घरआँगनमा पाइला टेक्न नपाएको पीडालाई आवाज दिएकी छन्।'पुतलीको भट्टी' भाग २० अन्तर्गतको यो गीत सुन्दरमणि अधिकारीको शब्द र संगीतमा तयार भएको हो, जसलाई आशिष अविरलले एरेन्ज गरेका छन्। गीतको भिडियोमा मोडल ललिता फिचर्ड छिन्, जुन सुन्दरमणिकै निर्देशनमा तयार पारिएको हो।
२० वर्षदेखि तीज गीत सार्वजनिक गर्दै आएकी विष्णुको ‘चरी जेलैमा’ गीत सबैभन्दा चर्चित छ। विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युब च्यानलबाट सार्वजनिक यो गीत युट्युबसहित आइट्युन, अमेजन, स्पोटीफाइ, र एप्पल म्युजिकमा पनि उपलब्ध छ।