नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा चालक दलको त्रुटि रहेको जनाएको छ। प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका छन्।
महानिर्देशक अधिकारीका अनुसार, भिजिओल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको खराब मौसममा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको हो। उनले बताए अनुसार, भिएफआरको नियम उल्लंघन गर्दै हेलिकप्टरले बादलभित्र छिरेको थियो, जसलाई कानूनले वर्जित गरेको छ।
अधिकारीले भने, ‘टावरसँग सम्पर्क बिच्छेद भए पनि हामीले प्रक्रिया अनुसार खोजी गर्यौं। मौसम खराब हुँदा क्र्यास साइट पहिचान गर्न समय लाग्यो। शंकास्पद स्थान पत्ता लगाइएपछि हेलिकप्टर खोजीका लागि परिचालित गरिएको थियो।’
साउन २३ गतेको दुर्घटनामा चार जना चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल सरकारले छानबिन आयोग गठन गरेको छ। अधिकारीले भिएफआर नियम उल्लंघनका कारण दुर्घटना भएको देखिएको बताए। विस्तृत अनुसन्धान भने आयोगले गर्नेछ।