भारतमा जारी क्रिकेट खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टिम भारतका क्लबहरूसँग मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेलिरहेको छ। यसै बीच आज सम्पन्न भएको प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्न सफल भएको छ।

एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । पहिले ब्याटिङ गरेको नेपाली टिमले उसलाई १५७ रनको लक्ष्य दिएको थियो। तर बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्रै बनाउन सफल भयो।

बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३.४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए ।

प्रतिक्रिया