सेमिफाइनलमा चुक्यो नेपाल

काठमाडाैं - काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भयो ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाएर एक सय २३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । यसपटक भने आगामी आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी प्रिमियर कप पनि टी–२० ढाँचामा खेलाइएको हो ।जारी प्रतियोगितामा अब नेपाली टालीले ओमान र हङ्कङबिच हुने दोस्रो सेमिफाइनल खेलको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । तेस्रो स्थानको खेल शनिबार खेलिने छ । सेमिफाइनलमा विजयी दुई टोलीबिच आइतबार उपाधि भिडन्त हुनेछ ।   

 

काठमाडाैं - पहिलो सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले निराशाजनक प्रदर्शन गर्यो। खासगरी नेपालको ब्याटिङ निकै फितलो देखियो । सन्दीप जोरावाहेक नेपाली टोलीका अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पाली खेलेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे ।करण केसीले टोलीको खातामा १७ रन थपे । उनले १२ बलमा दुई छक्का प्रहार गरे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ललित राजवंशी दुई र अविनाश बोहरा एक रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अर्का ओपनर आसिफ शेख पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान रोहित पौडेल पाँच रनमै आउट भए । कुशल मल्ल तीन र दीपेन्द्रसिंह ऐरी पाँच रनमै पेभेलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । यूएईका बलर जुनैद सिद्दकी, अली नासिर र बासिल हमिदले दुई–दुई विकेट लिएका थिए । ओमिद सफिक रहमान, आयान अफजल खान र मुहम्मद फारुकले पनि एक–एक विकेट हात पारेका थिए । रातोपाटीबाट 

प्रतिक्रिया