८० लाख लिएर सहकारीका अध्यक्ष फरार


काठमाडौं–सहकारीमा बेथितीका घटना मौलाउँदै गएका छन् । सहकारीमा सुधिर बस्नेत, इच्छाराज तामाङहरुले निक्षेपकर्ताको अर्बौं रुपैयाँ डुबाए ।  पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिन थालेको छ । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँ बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख रुपैयाँ बढी ऋण रकम लिएर फरार भएको खुलासा बाहिरिएको हो । 


अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए ।


अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ । पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको  २५ लाख ७० हजार १३३ रुपैयाँ लिएर उनी फरार छन् । यस्तै, दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको  २१ लाख, दमक–५ का राजु गौतमको ४ लाख, दमक–९ का टेकबहादुर योञ्जनको ८ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको  १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँ को २ लाख, कमल गाउँपालिका–४ का गौरी राईको २ लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको ६ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

प्रतिक्रिया