काठमाडौँ। गत हप्ता तीज विशेष धेरै गीतहरू सार्वजनिक भएर चर्चामा आए। तीमध्ये अधिकांश मौलिक तीज गीतहरू थिए। तथापि, छाडा गीतहरूको बीचमा सार्वजनिक भइरहेका मौलिक भाकाहरूले त्यति धेरै दर्शक पाउन नसकेको गुनासो आइरहेको छ।
यसै बीचमा, विशेष गरी गण्डकी प्रदेशमा तीजमा गाइने मौलिक तीज भाका “छोरी भ’र जन्मनु” सार्वजनिक भए संगै धेरैको प्रशंसा र चर्चा पाइरहेको छ। उक्त गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन । गीतको अडियो र भिडियोमा कुनै खोट लगाउन नसकिने गरी निर्माण टिमले गीतको पूर्णता दिएको छ।
गीतमा गायिका शान्ति श्री परियारले आवाज भरेकी छिन् भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छन्। त्यस्तै, गीतको निर्देशक प्रवीण थापाको कथा तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने अमृत चोपागाईंले सम्पादन गरेका छन्। "छोरी भएर जन्मनु कुन जुनीको पाप हो" भन्दै सुरु हुने कथा छोरी र बुहारी बीच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन भन्ने सन्देश मूलक कथामा समावेश गरिएको छ।