उदयपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका नवीन कटुवालको शव घट्ना स्थलमै

काठमाडौं - उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु १९ वर्षीय नवीन कटुवालको शव उठ्न सकेको छैन । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि गोली चल्दा उनको मृत्यु भएको हो । उनी स्वतन्त्र रूपमा वडाध्यक्षका प्रत्याशी गौरव कटुवालका भतिजा हुन् ।

उदयपुरका एसपी सुवास बोहराले पोष्टमार्टम गरेर लैजाने अवस्था नभएकाले घटनास्थलमै शव रहेको बताए । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर लगिएको छ ।

घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।  बोहराले भने, ‘मतपेटिका मतदान स्थलमै रहेको छ । मत भने खसिसकेको थियो । लाहाछाप हाल्ने बेलामा मात्र तनाव भएपछि गोली चलेको हो ।’

प्रतिक्रिया