सांस्कृतिक अध्ययन परिषद्को फरक अभ्यास, भाषणभन्दा सिकाइलाई प्राथमिकता

काठमाडौं । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको छ। कार्यक्रममा संगीत तथा अडियो–भिडियो क्षेत्रमा प्रविधिको बढ्दो प्रयोग, यसको प्रभाव र बदलिँदो प्रविधिसँग कसरी अद्यावधिक रहने भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा वरिष्ठ प्रविधि विज्ञ राजेन्द्र अर्यालले संगीत, अडियो तथा भिडियो निर्माणमा प्रयोग हुने आधुनिक प्रविधि, त्यसको उपयोगिता तथा नयाँ प्रविधिसँग आफूलाई समयानुकूल बनाइराख्ने उपायबारे जानकारीमूलक प्रस्तुति दिएका थिए।

अन्तरक्रियामा सहभागी स्रष्टा, सर्जक, कलाकार तथा अडियो–भिडियो क्षेत्रमा कार्यरत व्यक्तिहरूले प्रविधिसम्बन्धी नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएका थिए। परिषद्का अनुसार सहभागीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

यसपटकको कार्यक्रम परम्परागत शैलीभन्दा फरक ढंगले सञ्चालन गरिएको परिषद्ले जनाएको छ। प्रमुख अतिथि, विशेष अतिथि, लामो भाषण तथा खादामाला जस्ता औपचारिकता हटाएर सहभागीलाई प्रत्यक्ष सिकाइमा केन्द्रित गरिएको थियो। कार्यक्रममा सहभागीहरूले कलम र कापी लिएर विज्ञको प्रस्तुति सुन्दै आवश्यक विषयवस्तुको टिपोट गरेका थिए।

परिषद्ले यस्तो अभ्यासले समय र खर्चको बचत गर्दै ज्ञान आदानप्रदानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। साथै, भाषणबाजी र खादामाला संस्कृतिलाई निरुत्साहित गर्दै सादगी, मितव्ययिता र सिकाइमुखी कार्यक्रम सञ्चालनको अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया