काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले यस वर्ष असार १ गते (जुन १५) देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। अघिल्लो वर्ष कात्तिक १८ गते नेपालले पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइनमार्फत बङ्गलादेशमा विद्युत् पठाएको थियो। यसपटक भने असार १ गतेदेखि नोभेम्बर १५ सम्म पाँच महिना निरन्तर विद्युत् निर्यात हुने प्राधिकरणले जनाएको छ।
बङ्गलादेशमा निर्यात हुने ४० मेगावाट विद्युत् त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट रहेको छ। यो विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्फरपुर र बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ।
नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय सम्झौता अनुसार, बङ्गलादेशले पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् खरिद गर्नेछ। जसबाट नेपाल सरकारले १ अर्ब २९ करोड रुपैयाँ आम्दानी गर्नेछ। बिक्री दर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट तय गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा बढी भएको विद्युत् छिमेकी मुलुकहरूमा निर्यात गर्नु राष्ट्रको ऊर्जा सन्तुलन र समृद्धिका लागि सकारात्मक पहल भएको बताए। ऊर्जा विकास मार्गचित्र–२०८१ अनुसार सरकारले सन् २०३५ भित्र २८,५०० मेगावाट विद्युत् उत्पादन र १५,००० मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ।
नेपाल विद्युत् प्राधिकरणले भारततर्फको विद्युत् निर्यातलाई पनि निरन्तरता दिएको छ। हाल प्राधिकरणले हरियाणामा २०० मेगावाट र बिहारमा ८० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। भारततर्फको बिक्री दर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ।
वर्षायाम सुरु भएसँगै देशको आन्तरिक मागभन्दा बढी विद्युत् उत्पादन हुन थालेपछि बाँकी विद्युत् भारत र बङ्गलादेशमा निर्यात गरिएको हो। यस निर्यातले जलविद्युत्को उपयोग, ऊर्जा व्यापारको विस्तार र अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।