के फिर्ता होला हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्य

काठमाडौं - प्रिमियममा आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले लगानीकर्ताको प्रिमियम मूल्य फिर्ता गर्छ त भन्ने पछिल्लो समय व्यापक चर्चा चलिरहेको छ। 

संसदीय लेखा समितिले प्रिमियममा आइपीओ निष्कासन गर्दा अनियमितता भएको औलाएसँगै यस विषयसँग सम्बन्धित सबैलाई छानबिनको दायरामा ल्याउन थालिएको छ।

त्यसमध्ये हिमालयन रिइन्सुरेन्स पनि एउटा पर्दछ। जसले केही दिनअघि मात्रै प्रिमियममा आइपीओ निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ। साथै प्रिमियम मूल्यसहितको आफ्नो रकम समेत लगानीकर्ताबाट उठाइसकेको छ। 

गत पुस १२ गते संघीय संसदको सार्वजनिक लेखा समितिले 'बीमा कम्पनीहरूलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनविपरीत र सर्वसाधारणको हितविपरीत देखिएकोले सो कार्यलाई तत्काल सच्याउन' प्राधिकरणलाई निर्देशन दिएको थियो। 

यता बीमा प्राधिकरणले भने अदालतले आदेश दिए लगानीकर्ताको प्रिमियम मूल्य फिर्ता गर्न पहल गर्ने जनाएको छ। 

यसअघि सिटिजन्स लाइफ, सन नपाल लाइफ, रिलायबल नेपाल, आइएमई लाइफले प्रिमियम मूल्यमा आइपिओ जारी गरेका थिए। त्यस्तै, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्सले समेत पाँचदेखि सात वर्षअघि प्रिमियम मूल्यमा एफपिओ जारी गरेका थिए। 

बीमा कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्नै नपाउने भनेर हाल सर्वोच्चमा दायर भएको हिमालयन रिइन्स्योरेन्सको मुद्दामा निर्णय गरेमा यी कम्पनीका लगानीकर्ताले पनि रकम फिर्ता पाउँछन् वा पाउँदैनन् भन्न सकिने अवस्था छैन।

प्रतिक्रिया