‘हरे शिव राम’, ‘दुई दिने यो चोला’, ‘साथी हुँ म दाइ नभन्नु ल’ र ‘तिमी कति राम्री’ जस्ता चर्चित लोकदोहोरी गीतका सर्जक तथा गायक अमृत विश्वकर्मा ले नयाँ गीत ‘पश्चिम पोखरा’ सार्वजनिक गरेका छन्।
नेपाली लोक तथा सुगम संगीतमा लामो समयदेखि सक्रिय विश्वकर्माले एकपछि अर्को लोकप्रिय गीतमार्फत श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाएका छन्। हाल रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहे पनि उनले नेपाली भाषा, कला र संगीतप्रतिको लगावलाई निरन्तरता दिँदै नयाँ सिर्जना दर्शकमाझ ल्याएका हुन्।
‘पश्चिम पोखरा’ मा अमृत विश्वकर्मासँगै चर्चित गायिका शान्ति श्री परियार को स्वर सुन्न सकिन्छ। ‘Amrit Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा मौलिक लोकलय, सरल शब्द र मिठासपूर्ण प्रस्तुति समेटिएको छ।
गीतले प्रेम सम्बन्धमा देखिने आत्मीयता, गुनासो, शङ्का र अपेक्षाका भावलाई प्रस्तुत गरेको छ। मायालुको बेवास्तापछि उत्पन्न हुने जिज्ञासा र साँचो प्रेमको अनुभूतिलाई गीतका शब्दहरूले जीवन्त बनाएका छन्।
गीतको भिडियोमा जुना विश्वकर्मा र अमृत विश्वकर्माको अभिनय तथा नृत्य देख्न सकिन्छ। नेपाली मौलिकता झल्कने दृश्य, आकर्षक छायाङ्कन र सम्पादनले भिडियोलाई थप प्रभावशाली बनाएको छ।
दर्जनौँ सफल गीतमार्फत श्रोताको मन जितिसकेका अमृत विश्वकर्माको यो नयाँ प्रस्तुति पनि संगीतप्रेमीमाझ रुचाइने अपेक्षा गरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।