काठमाडौं - सिर्जनाको गहिराईमा पुगेर शब्द र संगीत चयन गर्ने डा. शिव सुवेदीका हरेक गीतले दर्शकको मन छुन्छ। चाहे सामाजिक विषयवस्तु होस् वा माया प्रेम, सुवेदीका सिर्जनाहरू सबै उत्कृष्ट छन्।
दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीतलाई नजिकबाट बुझेका शिव सुवेदीले निरन्तर गीतसंगीतमा यात्रा गरिरहेका छन्। भर्खरै मात्र उनले लेखेको नयाँ गीत 'नरो है आमा' सार्वजनिक भएको छ। सामाजिक कथावस्तुमा आधारित यो गीतले दर्शक र श्रोताको मन जितिरहेको छ, र सामाजिक सञ्जालमा पनि यसको व्यापक चर्चा भइरहेको छ।
चर्चित गायिका अस्मिता डल्लाकोटीको आवाजमा रहेको यो एकल गीतमा शिव सुवेदीले शब्द रचना गरेका हुन् भने संगीत नन्दु परियारले भरेका छन्। पूर्ण संयोगले संगीत संयोजन गरेको यस गीतको म्युजिक भिडियोमा निर्माण पक्षले अत्यन्तै मेहनत गरेको देखिन्छ।
कपिल लामाले निर्देशन गरेको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन्। भिडियोमा अस्मिता डल्लाकोटी, हिउवाला गौतम, शक्तिकुमार गोदार, कुशल पोखरेल, विष्णु पौडेल, र विनिता पौडेललगायत आधा दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन्।
निर्माण टिमले गीतको अडियो र भिडियोमा निकै मेहनत गरेको छ। यो समाचार तयार पार्दासम्म गीतले करिब ३ लाख ७० हजार दर्शक पाइसकेको छ भने अधिकांश प्रतिक्रियाहरू सकारात्मक रहेका छन्।