राहात कोषमा पैसा थुप्रियो, बाढी पीडितले पाएनन्


काठमाडौं– असोज ११ र १२ मा आएको बाढी र पहिरोले घरवारविहीन हुने सर्वसाधारण नागरिकको संख्या सयौं पुगेको छ ।पीडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिले करोडौं रुपैयाँ सहयोग गरेका छन् । सरकारले पीडितलाई राहत वितरण एकद्वार प्रणालीबाट गर्ने भनेको छ । अहिलेसम्म सरकार पीडितको तथ्यांक संकलनमै व्यस्त छ । घरवारविहीन भएको १० दिन हुँदा पनि पीडितलाई राहत वितरण हुन सकेको छैन । त्यसमाथि सबैभन्दा ठूलो चाड दशैं आउन एक साता पनि छैन ।


अहिलेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ । यसमध्ये एक अर्ब रुपैयाँ सरकारले जम्मा गरेको हो । केही रकम प्रदेश सरकार, गाउँपालिका, राजनीतिक दलहरुले दिएका हुन् भने अन्य सबै रकम विभिन्न संघसस्था, निकाय र व्यक्तिगत रुपमा उठेको हो । कोषमा यति रकम जम्मा हुँदा पनि संघीय सरकारले अहिलेसम्म राहत वितरण गर्न सुरु गरेको छैन । बाढीपहिरोले चपेटामा पारेका केही स्थानमा सम्बन्धित गाउँपालिकाले पीडितलाई थोरै सहयोग गरेका छन् । तर, १० दिनसम्म पनि पीडितले खाद्यान्न लगायतका आवश्यक राहत पाउन सकेका छैनन् ।


बाढीपहिरोका कारण आफन्त गुमाउने बाहेक कतिपय सर्वसाधारणको घरवास नै बगाएको छ । घरवारविहीन भएकाहरु अहिले स्कुल, कलेज वा यस्तै सार्वजनिक स्थलहरुमा बस्न बाध्य छन् । सरकारले उनीहरुका लागि अस्थायी बसोबास बनाउन पनि केही सहयोग गरेको छैन । सरकारले तोकेको स्थानमा अस्थायी बसोबास बनाउने सुविधा दिने निर्णय यसअघि नै भएको थियो । तर, अहिलेसम्म बसोबासका लागि राहतको कुनै प्याकेज सार्वजनिक पनि गरिएको छैन ।


सरकारले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यो अहिलेसम्म वितरणको क्रममा छ । यस्तै, बाढीपहिरोमा घाइते भएकाको उपचार खर्च पनि सरकारले तिरिरहेको दाबी गरेको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् भने एक सय ७९ जना घाइते भएका छन् । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ । यस्तै, सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । ‘बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,’ उनले भने ।

प्रतिक्रिया