चितवन – पूर्वसचिव भीम उपाध्यायले चितवनकी एक चेपाङ छात्रालाई साइकल सहयोग गरेका छन्। सामाजिक कार्यमा सक्रिय उपाध्यायले छात्राको पढाइ सहज बनाउने उद्देश्यले सो सहयोग गरेका हुन्।
उपाध्यायले सामाजिक सञ्जालमार्फत सो विषयमा जानकारी दिँदै छात्राको कलेज जाने समस्यालाई सम्बोधन गर्न साइकल प्रदान गरेको उल्लेख गरेका छन्। उनका अनुसार चितवनको चेपाङ समुदायकी ती छात्रा टाढाको जिल्लामा बसेर आफ्नो शिक्षा जारी राखिरहेकी छन्। नियमित रूपमा कलेज जान कठिनाइ झेल्दै आएकी छात्राले साइकल पाए सजिलो हुने बताउँदै सहयोगका लागि आग्रह गरेपछि उपाध्यायले तत्कालै सहयोग रकम पठाएका हुन्।
“रु ८,५०० को मूल्य पर्ने ती छात्राले रोजेको साइकल किन्नका लागि ममार्फत रकम बैंक खातामा पठाएको छु,” उपाध्यायले लेखेका छन्। चेपाङ समुदायबाट पहिलो महिला वकिल बनेर भविष्यमा न्यायाधीश बन्ने लक्ष्य राखेकी छात्रालाई शुभकामना दिँदै उनले थप मेहनत गर्न आग्रह गरेका छन्।
सामाजिक कार्यमा निरन्तर लागिपरेका उपाध्यायले यसअघि पनि विभिन्न व्यक्तिलाई सहयोग गर्दै आएका छन्। उनले इच्छुक सहयोगदातालाई पनि उक्त छात्राको लागि स्पोन्सर गर्न आग्रह गरेका छन्।
उनको यो कार्यले शिक्षा र समान अवसरको महत्वलाई प्रोत्साहन दिने विश्वास गरिएको छ।