काठमाडौं । नेपाली गीत-संगीत क्षेत्र चिसो मौसम भए पनि सांगीतिक रूपमा भने निकै तातिरहेको छ। हप्तामा दर्जनौं गीतहरू सार्वजनिक भइरहेका छन्। नयाँ गीतहरूसँगै नयाँ कलाकारहरूले पनि गीत-संगीत क्षेत्रमा आफ्नो पहिचान बनाइरहेका छन्।
यस्तै छोटो समयमा नै अभिनयबाट धेरैको मन जित्न सफल कलाकार अशोक पौडेल पनि नेपाली संगीत क्षेत्रको चम्किलो अनुहार बन्न सफल भएका छन्। अभिनय यात्रा सुरु गरेको लामो समय नभए पनि उनले आफ्नो यात्रालाई दमदार बनाउँदै लगेका छन्। एकपछि अर्को गीतमा अभिनय गर्दै उनले आफ्नो क्षमता निखार्दै गइरहेका छन्।
पौडेलले अभिनय गरेको नयाँ गीत ‘आधा मुटु’ भर्खरै सार्वजनिक भएको छ। यस गीतमा उनले अघिल्ला गीतहरूभन्दा परिपक्व अभिनय प्रस्तुत गरेको प्रष्ट देख्न सकिन्छ। माया–प्रेम र विछोडको कथा बोकेको यस गीतमा जुना गुरुङले पनि अभिनयमा साथ दिएकी छन्।
‘आधा मुटु’ गीतमा विक्रम परियार र आशिका पोख्रेलको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई सुरज गैरे र अर्जुन गैरेले सिर्जना गरेका छन् भने संगीत संयोजन कृष्ण लामिछानेले गरेका छन्। निरेन श्रेष्ठको निर्देशनमा तयार भएको यो गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।