महोत्तरीमा आगलागीले १५० घरगोठ जलेर नष्ट

काठमाडाैं - गर्मी लागे सँगै देशैभरि आगलागीका घटनाहरू निकै बढीरहेका छन् । यसै बीच महोत्तरीको मटिहानी नगरपालिका– ६ जरलहवा बस्ती नै सखाप भएको छ । बुधबार लगातार सात घण्टाको आगलागीमा एक सय ५० घरगोठ जलेका छन् । त्यस्तै, पाँच सय स्थानीय विस्थापित भएका छन् । 

मटिहानीका मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीमा अधिकांश फुस र जस्तापाताले छाएका घर छन्, तीमध्ये सबैजसो जलेका छन् । पक्की घरमध्ये तीन–चारवटामा मात्रै क्षति भएको छ । तर, प्रहरीले भने ९२ घर जलेर नष्ट भएको विवरण संकलन गरेको छ ।  

‘दिनभरको आगलागीले घरभित्रका सबै सरसामान जलेका छन् । कतिपय पशुचौपाया पनि मरे,’ मेयर मण्डलले भने, ‘१२ वटा दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।’ आगोले बस्ती नै नष्ट गरेपछि कम्तीमा पाँच सय व्यक्ति विस्थापित भएका छन् । तर, आगलागी कसरी र कहाँबाट भएको हो भनेर अझै यकिन भएको छैन । 

गुठीको जग्गामा बसेको यो बस्तीमा धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास छ । स्थानीयका अनुसार बुधबार मध्याह्न १२ बजेतिर बस्तीको दक्षिण–पश्चिम कुना (आप बगैँचा क्षेत्र) बाट सुरु भएको आगो एक घन्टामै खेत रहेको क्षेत्रसमेत पार गरेर पूरै बस्तीमा सल्किएको थियो । दक्षिण–पश्चिम कुनामा आगलागी हुनासाथ खाना पकाउने एलपी ग्यासका चारवटा सिलिन्डर फड्किएपछि आँपको बगैँचास्थित यो बस्तीका करिब सय घरमा आगो पुग्यो । लगत्तै खेत क्षेत्रबाट ७० मिटर पर रहेको सोही बस्तीको अर्काे क्षेत्रमा पनि आगो सल्किएपछि थप ५० घर जलेका हुन् । बस्तीमा आगो फैलिएपछि स्थानीयसामु ज्यान जोगाउन भाग्नुबाहेक विकल्प रहेन, उनीहरूले घरभित्रबाट सरसामान निकाल्न वा बाँधेर राखेका पशुचौपायालाई छोड्न पाएनन् ।

शीलादेवी मुखियाको घर पनि आगलागीमा खरानी भएको छ । ‘खेतपारीका घरमा आगो लागेको थियो, आगोको झिल्को उडेर आयो, मेरो घर पनि जल्यो,’ उनले भनिन्, ‘घरबाट केही पनि निकाल्न पाइनँ ।’ उनले केही दिनअघि मात्र १० हजार कर्जा लिएको पैसा पनि जलेको छ । दिउँसो पश्चिमबाट पूर्वतिर हावा चल्दा आगो फैलिएको हो । आजको नयाँ पत्रिकाबाट ।

 

 

 

प्रतिक्रिया