काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारको राजस्व संकलनमा सुधार देखिएको छ। साउन मसान्तसम्म सरकारले विभिन्न स्रोतबाट ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ राजस्व तथा अन्य आम्दानी गरेको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनको सरकारी प्राप्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले बढी हो। गत वर्षको साउनको तुलनामा यसपटक सरकारी प्राप्ति करिब ८ अर्ब २४ करोड रुपैयाँले बढेको छ।
साउनमा सरकारले कर राजस्वबाट ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ संकलन गरेको छ। यस्तै, गैरकर राजस्वबाट ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ प्राप्त भएको छ। सरकारले २४ करोड ३ लाख रुपैयाँ बराबरको वैदेशिक अनुदानसमेत प्राप्त गरेको छ।
साउनमा भएको कुल सरकारी प्राप्ति चालु आर्थिक वर्षका लागि निर्धारित वार्षिक लक्ष्यको करिब ५.७ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा विभिन्न स्रोतबाट कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ राजस्व तथा अन्य प्राप्ति गर्ने लक्ष्य राखेको छ।
राजस्व संकलनमा सुधार देखिए पनि सरकारको खर्च भने सुस्त रहेको छ। साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ। यसअनुसार पहिलो महिनामा कुल बजेटको १.९७ प्रतिशत मात्रै खर्च भएको छ।
सरकारी खर्चमध्ये चालुतर्फ २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च भएको छ। चालु खर्चका लागि सरकारले १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ। साउनसम्म चालु बजेटको १.६८ प्रतिशत खर्च भएको हो।
पुँजीगत खर्चको अवस्था भने अझ कमजोर देखिएको छ। सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेकोमा साउन मसान्तसम्म त्यसको ०.३१ प्रतिशत मात्रै खर्च भएको छ।
यस्तै, वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। यो शीर्षकमा गरिएको वार्षिक विनियोजनको ४.५३ प्रतिशत हो।
यसरी चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलनमा सुधार देखिए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने अत्यन्त न्यून रहेको सरकारी तथ्यांकले देखाएको छ। राजस्व बढ्दै गए पनि विकास आयोजनामा खर्च बढ्न नसक्दा सरकारी बजेट कार्यान्वयनको गति कमजोर रहने पुरानै समस्या दोहोरिने संकेत देखिएको छ।