काठमाडौं । नेपाल बीमा प्राधिकरण ले आफ्ना निर्देशन उल्लंघन गरेको भन्दै चार बीमा कम्पनीलाई कारबाही गरेको छ।
प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स लाई नियम विपरीत काम गरेको ठहर गर्दै जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो।
प्राधिकरणका प्रवक्ता पुजन ढुंगेल अधिकारीका अनुसार नियामकीय निर्देशन पालना नगरेको आरोपमा उक्त कारबाही गरिएको हो।
यसैबीच, हिल्टन होटलसँग सम्बन्धित पुनर्बिमा विवादमा पनि प्राधिकरणले थप कडाइ गरेको छ। नेपाल पुनर्बिमा कम्पनी का प्रमुख कार्यकारी अधिकृतमाथि बिमा ऐन, २०७९ अनुसार कारबाही गरिएको छ भने हिमालयन रि–इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स कम्पनी लाई समेत जनही २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि को लाइसेन्स तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
यो कारबाही गत भदौमा भएको आन्दोलनका क्रममा होटलमा पुगेको क्षतिपछि गरिएको दाबी व्यवस्थापनसँग जोडिएको छ। सो घटनापछि करिब ६ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको थियो। नियमअनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी मार्फत मात्र गर्नुपर्ने व्यवस्था भए पनि उक्त प्रक्रिया उल्लंघन गरिएको पाइएको हो।
छानबिनका क्रममा ओरियण्टल इन्स्योरेन्सले ब्रोकरमार्फत जोखिम निजी क्षेत्रको कम्पनीमा सारिएको र पछि क्षति आएपछि सरकारी कम्पनीमा दायित्व सार्ने प्रयास भएको तथ्य खुलेको प्राधिकरणले जनाएको छ।
यस घटनामा सुरुआतमा प्रस्ताव अस्वीकार गरी निजी कम्पनीलाई फाइदा पुग्ने निर्णय गरिएको र पछि क्षति आएपछि पुनः सरकारी कम्पनीमा भार सार्ने प्रयास भएको निष्कर्ष प्राधिकरणले निकालेको छ।