छठको दोस्रो दिन आज ‘खरना’

काठमाडाैं - महापर्व छठको दोस्रो दिनको अवसरमा आज बर्तालुहरू 'खरना' विधिमा जुटेका छन्। पर्वको पहिलो दिन मङ्गलबार कात्तिक शुक्ल चौथीका दिन 'नहाय–खाय' विधि सम्पन्न गरेपछि आज कार्तिक शुक्ल पञ्चमीमा 'खरना' को तयारी भइरहेको हो।

आज बिहान पवित्र स्नान गरेर बर्तालुहरूले दिनभरि निराहार उपवास गरेर राति खिर पकाएर कूल देवता र छठी देवीलाई चढाउनेछन्। यस विधिलाई 'खरना' भनिन्छ।

छठ पर्वमा श्रद्धा, निष्ठा, र समर्पणभावका साथ 'खरना' को विधि सम्पन्न गरिन्छ। दिनभरि उपवास गरेको बर्तालुले बेलुका चन्द्र दर्शन गरी माटोको नयाँ चुल्होमा मङ्सिरमा पाकेका धानको चामल, दूध र सक्खर मिलाएर खिर तयार गर्छन्। यो खिर छठी मातालाई चढाएर बर्तालु र उनका परिवारले प्रसादको रूपमा सेवन गर्छन्।

पर्वको तेस्रो दिन भोलि कात्तिक शुक्ल षष्ठीमा सूर्य उपासनाका लागि निराहार व्रत बस्नेछन्। साँझपख बर्तालुहरूले जलाशयको किनारमा गएर कम्मरसम्म पानीमा डुबेर सूर्यलाई अघ्र्य अर्पण गर्नेछन्। यसलाई मिथिलामा 'सझुका अरख' वा 'सझियाघाट' भनिन्छ।

प्रतिक्रिया