२७० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

काठमाडौँ: सिन्धुपाल्चोक र रसुवामा सञ्चालित जलविद्युत् आयोजनाबाट उत्पादित २७०.३ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय ग्रिडमा जोडिने भएको छ।

लामो समय विवादमा रहेको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट १०२ मेगावाट, रसुवागढी जलविद्युत् आयोजनाबाट १११ मेगावाट, माथिल्लो साञ्जेनबाट १४.८ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाबाट ४२.५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने योजना छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले रसुवाका विभिन्न जलविद्युत् आयोजनाहरूको निरीक्षण गर्दै निर्माण ढिला हुँदा ठूलो आर्थिक क्षति भएको बताउँदै, प्रसारण लाइनलाई तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएका छन्। साथै, उनले निर्माणाधीन प्रसारण लाइन र सबस्टेसनको कार्यमा थप जनशक्ति लगाई दुई हप्ताभित्र काम पूरा गर्न आग्रह गरेका छन्।

त्रिशूली थ्री बी हब र चिलिमे हबका सबस्टेसनहरूबाट उत्पादित विद्युत् काठमाडौंको मातातीर्थ सबस्टेसनमा पुर्‍याइनेछ। २८ किलोमिटर लामो प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउन्डेसन सम्पन्न भइसकेको छ भने, तार तान्ने काम तीव्र गतिमा भइरहेको छ।

प्रतिक्रिया