काठमाडौं । लामो समयको संघर्षपछि गीत-संगीतमा केही सफलता प्राप्त गर्न सफल भएका जापानमा रहेका सर्जक प्रेम सापकोटा सोनु हाल खुसी छन्। उनले एक दशकसम्म निरन्तर संगीतमा लागे पनि यो तहको सफलता भने पहिलो पटक प्राप्त गरेका हुन्।
प्रसंग हो, यस वर्ष सार्वजनिक भएको तीज गीत 'काली पसम की' को। सर्जक सापकोटाको जीवनमा यो अत्यधिक सफल गीतमध्ये एक हो। यो समाचार तयार पार्दासम्म यो गीत ५० लाख दर्शक बनाउने २०८१ सालको पहिलो तीज गीत बनेको छ। करिब ५ लाख खर्च भएको यो गीतले लगभग लगानी उठाएको छ। यस गीतको सफलताले प्रेमलाई आगामी दिनमा गुणस्तरीय गीत निरन्तर दिने जिम्मेवारी थपिएको महसुस भएको छ।
सिजनल गीतहरू, जस्तै तीज गीत, दशैं गीत आदिले लगानी उठाउनु चुनौतीपूर्ण हुन्छ। तर, यस वर्ष प्रेमको गीतले अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको मात्र छैन, गीतले आफ्नो सम्पूर्ण लगानी समेत उठाएको छ। यसबाट प्रेम मात्र खुसी छैनन्, आफ्नो लामो मेहनतको फल पाएकोमा उनी दंग छन्। गीतले ५० लाख दर्शक मात्र बनाएको छैन, करिब ३५०० प्रतिक्रिया पनि प्राप्त गरेको छ। भिडियो कुनै गीतसँग मिल्न गएको भन्ने बाहेक सबै प्रतिक्रियाहरू प्रशंसाले भरिएका छन्, जसले प्रेमलाई निकै आनन्द महसुस गराएको छ।
गीतकार प्रेम सापकोटा सोनुको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा सापकोटाको शब्द र संगीत रहेको छ। शान्ती श्री परियारको गायकीलाई दर्शक र श्रोताहरूले खुलेर प्रशंसा गरेका छन्। शान्ती श्रीले गीतमा आफ्नो कोकिलकण्ठी आवाजमा अभिनयको अनुभूति दिएको छ। विनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन्।
अडियो जस्तै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। गीतको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका छन् भने भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरीले अभिनय गरेका छन्। राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।
गीतमा विवाहित महिलाले श्रीमानबाट भोग्ने हिंसा र त्यसले निम्त्याउने समस्याहरूलाई प्रस्तुत गरिएको छ।