काठमाडौं- लोक तथा दोहोरी गायक अमृत अधिकारीले "मनको शान्ति" बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। झण्डै दुई दशकपछि अधिकारीले लोकप्रिय गायक रामचन्द्र चन्दसँग सहकार्यमा तयार पारेको यो गीतमा समाजका विभिन्न पीडा, तनाव र आर्थिक समस्याहरूलाई मुख्य विषय बनाइएको छ। गीतले आर्थीक मन्दी, सहकारी संस्थामा बचत हिनामिना, एकल महिलाका समस्या, वृद्धाश्रममा बस्न बाध्य वृद्धहरूको दुःख जस्ता समाजमा विद्यमान समस्याहरूलाई चित्रण गरेको छ।
गीतमा शान्ती श्री परियार, रामचन्द्र चन्द, सुनिता बुढा क्षत्री र अमृत अधिकारीको स्वर रहेको छ भने विक्रम बाबु विश्वकर्माले शब्द लेखेका छन् र नन्दु परियारले संगीत भरेका छन्। भिडियोमा चर्चित मोडल बिमल अधिकारी, वरिष्ठ कलाकार रामचन्द्र अधिकारी, जुना गुरुङ, यशु भट्टराईलगायतले अभिनय गरेका छन्।
भिडियोमा विमल अधिकारीले परिवारको आर्थिक संकटले थिचिएको पुरुषको भूमिका निर्वाह गरेका छन्, जुन तनाव र पारिवारिक समस्याहरूबाट ग्रसित व्यक्तिलाई चित्रण गर्छ। यस्तै, रामचन्द्र अधिकारीले वृद्धाश्रममा बस्न बाध्य वृद्धको भूमिका निभाएका छन् भने यशु भट्टराईले एकल महिलाको पीडा प्रस्तुत गरेकी छन्। निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको यो भिडियोले समाजको वास्तविकता उजागर गरेको छ।
अधिकारीले विश्वास व्यक्त गरेका छन् कि गीतले श्रोता-दर्शकको मन जित्न सफल हुनेछ। "मनको शान्ति" गीत अमृत अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।