काठमाडौंमा पाँच तारे होटल थपियो, पाँच अर्ब लगानी


काठमाडौं–कोभिड पछि पर्यटनमा सुधार आउने केही संकेत देखिरहेका बेला नयाँ होटल पनि सञ्चालनमा आउन थालेका छन् । नेपालमा एक पछि अर्को गर्दै धमाधम पाँच तारे होटल थपिएका छन् ।  पछिल्लो पटक गोल्यान ग्रुपको  करिव पाँच अर्ब रुपैयाँको लगानीमा पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । यो काठमाडौंको ताहाचालमा छ । शनिबार एक कार्यक्रम गर्दै होटल सञ्चालनमा आएको जानकारी दिइएको छ ।


शुरुमा ४ अर्ब लगानी गर्ने योजना भए पनि कोरोना महामारीका कारण निर्माणले गति नलिँदा रकम बढेर करिब ५ अर्ब रुपैयाँ पुगेको होटलका अध्यक्ष शक्ति गोल्यानले बताए । हायत अन्तर्राष्ट्रिय चेन होटल हो । यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ ।


होटल व्यवस्थापनको जिम्मा हायात प्लेसले लिएको छ । सन् २०१६ देखि निर्माण शुरु भए पनि कोरोना महामारीका कारण निर्माणको काम लम्बिएको थियो । सञ्चालक पवन गोल्यानले होटलले ५ वर्षमा ब्रेकइभनमा आउने बताए । होटलमा १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन् । त्यसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा पनि छ । विशेष गरी ट्राभलरहरुका लागि होटल लक्षित गरिएको छ ।


भवनको २ तला बेसमेन्ट छ । जुन पार्किङका लागि छुट्याइएको छ । त्यसपछिको तलामा लबी छ । जहाँ नेपालीपन झल्कने गरी कलाकृति देख्न सकिन्छ । लबीसँगै रेष्टुराँ र कन्फ्रेन्स हल पनि छ । कन्फ्रेन्स हलमा ४ सय जनासम्म अटाउन सक्छन् । साथै होटलको पहिलो तला सर्भिसका लागि हुनेछ भने दोस्रो तलामा स्वीमिङसँगै रेष्टुराँ र बारको सुविधा छ । जहाा केटाकेटीदेखि वयस्कसम्मका लागि लक्षित गरिएको छ ।

त्यसभन्दा माथिका तलाका रुमहरु पाहुनाका लागि हुनेछन् । ७ वटा टेरेससहितका रुममा हरियाली गार्डेनको सुविधा हुनेछ । प्रत्येक रुम ३० वर्गफिट क्षेत्रफलमा फैलिएका छन् । टेरेससहितका रुमहरु ४८ वर्गफिट क्षेत्रफलमा फैलिएका छन् ।
 

प्रतिक्रिया