इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट आज,कतिले पाउँछन् शेयर ?

काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँट हुँदै छ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको शेयर कात्तिक १७ गते बिहीबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आइपीओ मंगलबार प्रिअलमेन्ट भइसकेको छ। प्रि अलटमेन्ट सकिएको ३ दिनभित्र आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको २५.२१ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६२ हजार २२८ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।

 

 

 

प्रतिक्रिया