सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजना लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । सोमवार छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारसँग यस्तो माग गरेको हो ।
निजी क्षेत्रले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको मन्दीलाई चलायमान बनाउन उक्त लगानी महत्वपूर्ण बन्ने उल्लेख गरे । निजी क्षेत्रका तीन छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले वर्तमान अर्थतन्त्रमा आएको समस्या समाधानको लागि सामाजिक सुरक्षा कोषमा जम्मा भएको ४५ अर्ब भन्दा बढी रकम उत्पादन, रोजगारी र पूर्वाधार परियोजनाहरुमा लगानी गर्न आवश्यक रहेको बताए ।
तीन अध्यक्षले सरकारले सामाजिक सुरक्षा कोष जस्ता रकम संकलन हुने कोषहरुको सम्पूर्ण रकम उत्पादनमुलक क्षेत्रमा लगानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनीहरुले सरकारले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी लगाउन पाउने गरी कार्यविधि परिमार्जन गर्न समेत माग गरेका छन् । उनीहरुले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई बैंकमा राखेर ब्याज खाने भन्दा पनि उत्पादनशिल क्षेत्रमा लगानी गरी अर्थतन्त्रलाई गति दिन सक्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने बताए । उनले छोटो समयमा सामाजिक सुरक्षा कोषमा ४५ अर्ब फण्ड संकलन भएको भन्दै यसलाई उत्पादनमा लगानी गर्नसके मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले कोषमा जम्मा भएको रकम उत्पादनशिल क्षेत्र र पूर्वाधारमा लगानी गर्ने कार्यविधि भनएको भन्दै बैंकमा राखेर ब्याज खानुभन्दा उत्पादनमुलक, रोजगारी पूर्वाधारमा क्षेत्रमा लगानी गर्नेगरी कार्यविधि परिमार्जन गर्न सुझाव दिए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यलाई नियमित गराउन सरकारले पहल गर्नुपर्ने बताए ।
कार्यक्रमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाई पनि उस्तै रहेको छ । अध्यक्ष अग्रवालले पनि सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनशिल क्षेत्र तथा पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कोषमा जम्मा भएको रकम उत्पादनशिल क्षेत्र तथा पूर्वाधारमा लगानी लगाउन सकेसमग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास रहेको उल्लेख गरे । उनले मुलुकको समग्र आर्थिक विकासको लागि बलियो र स्थायी श्रम सम्बन्ध आवश्यक रहेको बताए ।
उनले विगत केही वर्षदेखि श्रमिक र रोजगारदाता बीचको सम्बन्ध सुधार हुँदै गएको दाबी गरे । उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा शुरुवातमा अस्पष्ट हुँदा केही समय अन्योलको सिर्जना पनि अहिले बिस्तारै सुधार हुँदै गएको बताए । उनले सामाजिक सुरक्षा कोष कार्यान्वयमा आएपछि कर्मचारी सञ्चय कोष मर्ज गर्ने कुरा भएपनि दुईवटा संस्था सञ्चालनमा भएकाले केही अन्योल भइरहेको बताए । उनले सामाजिक सुरक्षा कोषमा निजामति कर्मचारी र नेपाल सेना प्रहरीलाई पनि आवद्ध गराउन माग गरे ।
ट्रेड युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले सरकारले कोषमा आवद्ध भएका ९ लाखलाई निरन्तरता दिनु सक्नुपर्ने चुनौति रहेको बताए । उनले चैत महिनादेखि वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने अनिवार्य गरिको जस्तै स्वदेशमा काम गर्ने श्रमिकलाई अनिवार्य गर्न सरकारलाई के ले रोक्यो ? भन्दै प्रश्न गरे । उनले नेपाली श्रमिकहरुलाई व्यवहारमा उतार्ने खालका कानूनहरु आवश्यक रहेको बताए । उनले सरकारमा बस्ने जिम्मेवार व्यक्तिहरुले दिवसहरुमा राम्रो भाषण मात्रै गर्ने हो भने जनताले अर्को विकल्प खोजेजस्तै मजदुरहरुले पनि अर्को विकल्प खोज्न बाध्य नबनाउन सरकारलाई चेतावनी दिए ।
पछिल्लो पाँच वर्षमा योगदानकर्ताबाट सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड जम्मा भएको छ । यसबाट योगदानकर्तालाई तोकिएको जोखिम सम्बोधन गर्दा ६ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको कोषले बताएको छ । जसमा सबैभन्दा बढी औषधोपचारमा मात्रै ७६ करोड १२ लाख रुपैयाँ,दुर्घटनामा ८ करोड ७५ लाख रुपैयाँ र अवकाश हुनेहरूमा ५ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको कोषले जनाएको छ ।