नेपालमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने तयारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन्।

शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा शतप्रतिशत विद्युतिकरणको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन्। उनका अनुसार, ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको छ। उनले सरकारद्वारा सञ्चालन गरिएको 'उज्यालो नेपाल' अभियानको सबैभन्दा ठूलो सफलता यही भएको बताए।

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने भए पनि लोडसेडिङ भने इतिहासको विषय भइसकेको उल्लेख गरे। साथै, उनले वर्षा याममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिए।

हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपर्ने भए पनि आयातको मात्रा क्रमशः घट्दै जाने पनि उनले बताए। साथै, उनले सुकुम्बासी, चेपाङ, र मुसहर लगायतका विपन्न वर्गहरूलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको जानकारी पनि गराए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय