पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। संसदीय सार्वजनिक लेखा समितिको उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँको अनियमितता भएको निष्कर्ष निकालेको छ। उपसमितिले अधिकारीसहित ८ जना प्राविधिक र कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।
उपसमितिको प्रतिवेदनमा ठेक्का प्रक्रियादेखि निर्माण सम्पन्न हुँदासम्म विभिन्न अनियमितता भएको उल्लेख गरिएको छ। लागत अनुमानभन्दा ६ अर्ब ५६ करोड रुपैयाँ बढी खर्च गरिएको, कर छुटबापत २ अर्ब २२ करोड रुपैयाँ फिर्ता गरिएको, र छिनेडाँडा कटानमा थप ३२ करोड रुपैयाँ भुक्तानी गरिएको जस्ता अनियमितता प्रतिवेदनमा उल्लेख छन्।